परिचय

१) भौगोलिक अवस्थिति

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित छ। यो नगरपालिका सामुद्रिक सतहबाट ७०० मिटरदेखि २२५० मिटरसम्मको उचाइमा अवस्थित छ भने कुल २४६.५१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ। यसका साथै यस नगरपालिकाभित्र मझुवागढी, देवीस्थान कालिका भगवती, रूपाकोट, भुलभुले, महुरेगढी, साप्सुधाप, मेरुङडाँडा, सहदेवगढी, गुप्तेश्वर, सिद्धेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू अवस्थित छन् ।

२) ऐतिहासिक चिनारी तथा नामकरण

खोटाङ जिल्लाको तत्कालीन सदरमुकाम रहेको साविकको दिक्तेल गा.वि.स र आसपासका लफ्याङ्ग, खाल्ले र बाम्राङ्ग गा.विसहरूलाई समेटेर वि.सं २०७१ बैशाख २५ गते दिक्तेल नगरपालिका घोषणा भएको थियो । संघीय नेपालको पुनर्संरचनासँगै खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा केन्द्र रहने गरी एक मात्र नगरपालिकाको रूपमा वि.सं. २०७३ फाल्गुण २७ गते सविकको दिक्तेल नगरपालिका र साविकका नेर्पा, चिउरीडाँडा, निर्मलीडाँडा, पाथेका, खार्मी, जालपा,नुनथला,बुईपा र विजयखर्क गा.वि.सहरूलाई समावेश गरी रूपाकोट मझुवागढी नगरपालिकाको गठन भयो । तत्कालीन रूपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक प्रथम नगर सभा वि.सं. २०७४÷०६÷२६ बाट स्वीकृत गरी नामको अगाडी  दिक्तेल थप्ने सिफारिस भई नेपाल राजपत्र खण्ड ६७, संख्य ५७, भाग ५ मिति ः २०७४ फागुन १४ गते प्रकाशित सूचना बमोजिम दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नामकरण रहन गयो ।

 मझुवागढी किरातहरूको ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको स्थान हो, यहाँ हरेक मंसिरे पूर्णिमा र वैशाखे पुर्णिमामा साकेला उँधौली र उँभौली कार्यक्रम भव्यताका साथ सम्पन्न गरीन्छ । त्यस्तै देवीस्थान कालिका भगवतीमा बालाचतुर्दशी, शिवरात्रि र तीजमा मेला लाग्ने गर्दछ । रूपाकोट डाँडाबाट खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र भोजपुर लगायतका जिल्लाहरूको अधिकांस ठाउँहरूको दृश्य अवलोकन गर्न सकिने भएकोले यसलाई प्राकृतिक भ्युटावरको रूपमा लिने गरिन्छ ।

३) राजनीतिक अवस्थिति

    २०७३ मा स्थानीय तह पुनर्संरचनापश्चात् साविकका खार्मी, चिरीडाँडा, जाल्पा, निर्मलीडाँडा, विजयखर्क, बुइपा, नुनथला, नेर्पा र पाथेका गाविसहरू तथा दिक्तेल न.पा. सम्मिलित गरी यस नगरपालिकको गठन भएको हो । यस नगरपालिका १५ वडामा विभाजित छ ।

४) धरातलीय अवस्था

यस नगरपालिकाको भौगोलिक बनौट विविध छ जहाँ पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोंच र बेंसी आदि  विविध धरातलीय स्वरूप पाइन्छ । नगरपालिकाको सवै भाग पहाडी धरातल रहेकाले मूलतः यस नगरपालिकामा शीतोष्ण हावापानीको प्रधानता छ । मैदानी क्षेत्र कम भए तापनि बसोबास तथा कृषि उपयुक्त धरातल रहेको छ । मध्यपहाडी लोकमार्ग र अन्य सडकहरूको निर्माणले यस नगरपालिकालाई यातायातका दृष्टिले क्रमशः सुगम बनाउँदै लगेको छ ।

 
संक्षेपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
नगरपालिकाको नाम    ः    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका
केन्द्र            ः    दिक्तेल    
वडा सङ्ख्या        ः    १५
भौगोलिक क्षेत्र        ः    पहाड
प्रदेश नं            ः     १
जिल्ला            ः    खोटाङ
क्षेत्रफल            ः    २४६.५१ वर्ग कि.मि.
जम्मा धरधुरी        ः    १०,०५० 
जनसङ्ख्या        ः    जम्माः    ४६,९०३     महिलाः २५,३०४     पुरुषः २१,५९९
सिमाना
पूर्व            ः       भोजपुर जिल्ला
पश्चिम            ः     हलेसी तुवाचुङ नगरपालिका र रावाबेंसी गाउँपालिका
उत्तर            ः     केपिलासगढी तथा ऐंसेलुखर्क गाउँपालिका  
दक्षिण            ः     दिप्रुङ चुइचुम्मा तथा साकेला गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका

५) प्राकृतिक सम्पदा

रूपाकोट, महुरेगढी, मझुवागढी, जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा लालीगुराँस, चिमाल र विभिन्न जातका लेकाली धुपी सल्लाले शोभायमान बनाएको, खयर, साल तथा अन्य मूल्यवान वन सम्पदाले भरिपूर्ण साथै रावा, साप्सु, तावा, मेवा र दिखुवा जस्ता जल स्रोतहरू रहेको वास्तवमै प्राकृतिक स्रोत र जल साधनका दृष्टिले सुसज्जित नगरको रूपमा रहेको छ ।

६) सांस्कृतिक उत्कृष्टता

यस नगरपालिकाभित्र धेरै जाति जनजातिहरूको बसोवास भए तापनि मुख्य गरी राई, क्षत्री ब्राह्मण, दलित, नेवार, तामाङ, मगर, गुरुङ, सन्यासी, शोर्पा आदि जातिको बाहुल्य पाइन्छ । यस क्षेत्रमा आदिवासी राई, नेवार, तामाङ, मगर, गुरुङ जातिको प्रमुख उपस्थिति रहेको छ भने राई र नेवारी संस्कृतिको उच्च प्रभाव परेको देखिन्छ ।

७) विकासका सम्भावनाहरू

पूर्वी पहाडी भेगको करिव केन्द्रमा रहेको यस नगरपालिकाको विकासको सम्भावनालाई मध्य पहाडी राजमार्गको निर्माणले विस्तार गरिदिएको छ । कृषि, पशुपालन, नगदेबाली, व्यापार तथा लघु उद्यमको क्षेत्रमा नगरले महत्वपूर्ण सम्भावनाहरू बोकेको छ । युवा जनशक्तिको उपलव्धता, तराईसँगको सिधा सम्पर्क, प्राकृतिक स्रोत तथा नदीजन्य स्रोतले पनि विकासका लागि आवश्यक विद्युत् तथा निर्माण सामग्रीहरू सहज बनाएको छ । 

यस नगरपालिकाभित्र एक बहुमुखी क्याम्पस, १८ वटा माध्यमिक विद्यालय, ७३ वटा आधारभूत विद्यालय र ६७ वटा प्रारम्भिक वाल विकास केन्द्र रहेको छ । यसैगरी एक वटा जिल्ला अस्पताल, दुई वटा सामुदायिक अस्पताल, एक निजी अस्पताल, १२ वटा स्वास्थ्य चौकी, २ वटा सहरी स्वास्थ्य केन्द्र, ३९ वटा खोप केन्द्र र ग्रामीण स्वास्थ्य स्वयंसेविका १५९ जना रहेका छन् । यस नगरपालिकाको वडा नं. ४ मा मनमाया राई खानीडाँडा विमानस्थल रहेको छ । यस नगरपालिका क्षेत्रभित्र एक वटा कृषि सम्पर्क केन्द्र, ७ जना कृषि प्राविधिक (एक गाविस एक प्राविधिक), ३ वटा पशु सेवा केन्द्र र ३ जना पशु सेवा प्राविधिक (एक गाविस एक प्राविधिक) रहेका छन् ।

८) गार्हस्थ्य उत्पादन

नेपाल मानव विकास प्रतिबेदन २०१४ मा खोटाङ जिल्लाको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको अनुमानित आँकडा दिएको छ । उक्त प्रतिव्यक्ति उत्पादन, नगरपालिकाको जनसंख्या तथा २०१४—२०१८ सम्मको राष्ट्रिय औसत आर्थिक वृदिदर समेतको आधारमा यस नगरपालिकाको कुल गार्हस्थ्य उत्पादन अनुमान गरिएको छ । यस अनुमान अनुसार यस नगरपालिकाको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा रु. ६.४० अर्ब रुपियाँ बराबर रहेको अनुमान छ । उक्त कुल गार्हस्थ्य उत्पादनमध्ये करिब ७३ प्रतिशत कृषि क्षेत्रले ओगटेकोे छ भने ब्यापार र खुद्रा व्यापारले ९ प्रतिशत, निर्माणले ६ प्रतिशत र शिक्षाले ३ प्रतिशत योगदान गरेको देखिन्छ । उत्पादन मुलक क्षेत्रले करिब २ प्रतिशत मात्र योगदान गरेको देखिन्छ । यसरी यस नगरपालिकाको आर्थिक गतिविधि केलाउँदा कृषि क्षेत्रको योगदान उल्लेख्य रहेको पाइन्छ । अनुमानित आँकडा अनुसार कृषि क्षेत्र यस नगरपालिकाको आर्थिक विकासको प्रमुख आधार हुने देखिन्छ । उत्पादन र सेवामूलक क्षेत्रले आर्थिक विकास र रोजगारी सृजनामा योगदान गर्न यी क्षेत्रको उल्लेख्य बृद्धि हुनुपर्ने देखिन्छ । 

९) मानव विकास सूचकांक

नेपाल मानव विकास प्रतिबेदन २०१४ अनुसार खोटाङ जिल्लाको मानव विकास सूचकाङ्ग ०.४९४ रहेको छ जुन राष्ट्रिय औसत ०.४९ को हारहारि मा रहेको देख्न्छि । मानव विकास प्रतिवेदन २०१७ का अनुशार नेपालका मानव विकास सूचकांक ०.५५८ भए अनुरूप यस जिल्ला र नगरपालिकाको समेत ०.५५३ रहेको अनुमान गर्न सकिन्छ ।